नियम २०
अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था

(१) लोक सेवा आयोगले व्यवस्थापिका—संसद सेवाको रिक्त पद पूर्तिका लागि सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरूमध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनका लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नेछ ।
(२) व्यवस्थापिका–संसद सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नु पर्ने भएमा सचिवालयले लोक सेवा आयोगमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा लोक सेवा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सचिवालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न नाम सिफारिस गरी पठाउनेछ ।
(४) उपनियम (३) बमोजिम सिफारिस भएका व्यक्तिलाई बढीमा छ महिना सम्मको लागि सचिवालयले अस्थायी नियुक्ति गर्नेछ ।
(५) यस नियम विपरीत हुने गरी अस्थायी नियुक्ति गरेमा त्यस्तो अस्थायी नियुक्ति भएको कर्मचारीले खाइपाई आएको अवधिको तलब भत्ताको रकम अस्थायी नियुक्ति गर्ने अधिकारीबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।